Logo

६० वर्षभन्दा बढी सक्रिय राजनीति गरेका देउवाले डेमोक्रेसी बुझेनन्ः गुरु घिमिरे



काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले व्यक्तिगत रुपमा पार्टी चलाएको आरोप लगाएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभापति देउवाले १३औं महाधिवेशनबाट पार्टी गुटगत रुपमा चलाएको र १४औं महाधिवेशनबाट सच्चिने प्रतिवद्धता व्यक्त गरेपनि त्यो पूरा नगरेको आरोप लगाएका हुन् ।

‘१३औं महाधिवेशनबाट सभापति भएपछि पार्टीलाई गुटगत रुपमै चलाउनुभयो । १४औं महाधिवेशनमा फेरि सभापति निर्वाचित भएपछि चाहिँ म सबैको साझा सभापति हुन्छु, गुटबन्दी गर्दिन, सबैलाई न्याय गर्छु, उचित मुल्याङ्कन गर्छु भन्नुभयो । त्यसपछि चाहिँ पार्टीका साथीहरु आशावादी भए । त्यसपछि उहाँले आफ्नो कार्यकाल प्रारम्भ गर्नुभयो ।’ उनले भने, ‘आज १९/२० महिना भयो, उहाँले पार्टी व्यक्तिगत रुपमा चलाउनुभयो । पक्षपत गर्नुभयो, पार्टीमा अन्याय गर्नुभयो । फरक समुहमा रहेका पार्टीका साथीहरुलाई उहाँले किनारामा पुर्याउनुभयो ।’

पार्टी नीतिविहीनताको अवस्थामा चलेको उनको आरोप छ । नेपाली कांग्रेसले कुन नितिका आधारमा निर्वाचनअघि गठबनधन गर्यो भन्ने आफूले थाहा पाउन नसकेको उनले बताए । मुलुकलाई अगाडि बढाउने सन्दर्भमा कुन नीतिका आधारमा नेपाली कांग्रेसको यात्रा छ त्यो समेत स्पष्ट नरहेको उनको भनाई छ ।

पार्टीभित्र होस् वा सरकार सञ्चालनमा प्रतिपक्षको आवश्यकता रहेको उनको भनाई छ । उनले पार्टीभित्रको आलोचनालाई सुझावको रुपमा लिनुपर्ने बताए । ६० वर्षभन्दा बढी राजनीतिक जीवन विताएका सभपतिले डेमोक्रेसी के हो बुझ्ना आवश्यक रहेको उनले बताए ।

आफूहरुले चलाएको रुपान्तरण अभियानको प्रतिवेदन देउवाले बुझ्न नमानेपछि केन्द्रीय कार्यालयका पार्टी मुख्यसचिवमार्फत बुझाएको उनले बताए । आफूहरुले तयार गरेको प्रतिवेदन पार्टीको पुनर्जीवनको लागि सहायक हुन्छ भनेर देउवासँग समय मागेपनि समय उपलब्ध नभएको उनको भनाई छ । रुपान्तरण अभियानको प्रतिवेदन तयार गर्दैगर्दा विदेशस्थित जनसम्पर्क समितिलाई एक प्रदेश मानेर आन्य सातवटै प्रदेशमा पुगेर सुझाव संकलन गरेको उनले बताए । उक्त प्रतिवेदन तयार गर्नका लागि १०/११ वटा जिल्लामा कार्यक्रम नै गरेको उनले बताए ।

‘डायस्पोरा अर्थात् विदेशस्थित जनसम्पर्क समितिहरुलाई एउटा प्रदेश मान्यौं । आठ प्रदेशमा हामी पुग्यौं । डायस्पोराको मिटिङ चाहिँ भर्चुअल मिटिङ भयो । जिल्लाहरु गनणा गर्दा २८ जिल्ला पुगेछौं । १०/११ वटा जिल्लामा कार्यक्रम भए । फर्केर काठमाडौं आएर पनि प्राध्यापकहरुसँग सुझाव लियौं । महिला नेताहरुसँग कुरा गर्यौ । तरुण नेताहरुसँग हामीले कुराकानी गर्यौ र उहाँसँग समय माग्यौं । हामीलाई हाम्रा सुझावहरु, पार्टीका साथीहरुले दिएका सुझावहरु तपाईँलाई बुझाउन छ, पार्टीको पुनर्जीवनका निम्ति यो सहायक हुन्छ, सयम दिनुस् भनेर समय माग्दा समय नदिने । उहाँले समय नै नदिने भनेपछि पार्टीका सदस्यबारे उहाँको दृष्टिकोण कस्तो रहेछ, धारणा कस्तो रहेछ भन्ने स्पष्ट भयो । हामीले त्यसैले पार्टी कार्यालयमा बुझायौं’– उनले भने ।

आफ्ना निर्णयहरु केन्द्रीय कार्यासमितिको बैठकले पारित गरेको खण्डमा पार्टीको पुनर्जीवन सम्भव रहेको उनले बताए । नेपाली कांग्रेसको सदस्यता वितरण समारोह राख्न आवश्यक रहेको उनले बताए । नेपाली कांग्रेसको आदर्श र सिद्धान्त बुझेको, पार्टी सु्धारका लागि फरक मत नलाग्नेलाई क्रियाशील सदस्यता नदिएको उनको आरोप छ । आन्दोलन, निर्वाचन र पार्टीले अर्हाएको जिम्मेवारी पूरा गर्नमाथि पार्टीमा न्याय नभएको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्