Logo

नैनसिंह महरको आरोप, ‘पार्टीभित्र पदाधिकारी र कार्यसम्पादन समितिको सिन्डिकेट छ’



काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस तीनै तहको सरकारमा सहभागी भएपनि केन्द्रीय सरकार, संसद् र नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्यहरुबीचको समन्वय हुन नसकेको बताएका छन् । आज (बुधबार) जारी रहेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक समन्वयनको आवश्यक रहेको बताएका हुन् ।

‘केन्द्रीय सरकार, संसद् र नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्यहरुबीचको समन्वयात्मक बैठक बस्न सकेको छैन । विधेयक आएर पास भएको छ, विधेयकले जनताको पक्षमा काम गर्छ कि गर्दैन भनेर कुनै केन्द्रीय सदस्यलाई सोध्यो भने त्यसको उत्तर दिने मान्छे को ? त्यसकारण पार्टीभित्रको आन्तरिक समन्वय आजको ठूलो विषय हो,’– उनले भने ।

पदाधिकारी र कार्यसम्पादन समितिको पार्टीभित्र सिन्डिकेट रहेको उनको आरोप छ । पदाधिकारी र सम्पादन समितिले केन्द्रीय समितिको ओजलाई अवमूल्यान गरेको उनले बताए ।

‘पदाधिकारी र सम्पादन समितिको सिन्डिकेटजस्तो नै देख्छु मैले । केन्द्रीय समितिको ओजलाई सम्पादन समिति र पदाधिकारीहरुको बैठकले अवमूल्यन गरेको छ,’– उनले भने ।
संसद्मा सबैभन्दा ठूलो दल रहेको कांग्रेस सरकारमा सहभागी हुँदैगर्दा राम्रो कामको जस लिन नसकेर नराम्रो कामको बोझ बोक्नु परेको उनको दाबी छ ।

‘सरकारमा हाम्रा कारणले हो कि पार्टीले समन्वय नगरेको कारणले हो, सरकारले गरेको राम्रो कामको भारी कांग्रेसको जिम्मामा कसैले दिइरहेको छैन । तर, नराम्रो बोक्नुपर्ने अवस्था छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot