काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य दिपकबहादुर सिंहले भुटानी शरणार्थी प्रकरणका दोषीलाई सिंहदरबार अगाडि अचानोमा राखेर काट्नुपर्ने हिंसात्मक अभिव्यक्ति दिएका छन् । दुई दिनअघि राप्रपाले गरेको धार्मिक पदयात्रामा सहभागी भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘भुटानी शरणार्थीको काम राम्रो हो ? तपाईँहरु छातीमा हात राख्नुस् त । जीवनमा अहिलेसम्म नेपालको इतिहासमा भएको छैन, नेपालीको निधारमा भुटानी बनाई अमेरिका पठाउनका लागि । जेल हाल्ने होईन, निर्दोष फस्न हुन्न, दोषी जो–जो छन्, तिनीहरुलाई जेलमा थुन्ने होईन ।’ उनले भनेका छन्, ‘तिनीहरुलाई त सिंहदरबारको अगाडि मजस्तै (जुग्गामा हात पुर्याउँदै) यसो गरिकन बसेको उसको अगाडि अचानोमा काट्नुपर्छ ।’
भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ लगायतका विशिष्ट व्यक्तिहरु पुर्पक्षका लागि थुनामा छन् ।