Logo

‘प्रचण्डको टाउकोमाथि विदेशी शक्तिको तरबार’



काठमाडौं, ४ असार । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देशको स्वाधीनताबारे बोल्नसक्ने कुनै आँट नरहेको बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विदेशी शक्तिहरुसँग प्रचण्ड डराएको आरोप लगाए ।

प्रचण्डले हरेक ठाउँमा चुकिसकेको र देशको स्वाधीनताका लागि बोल्नसक्ने कुनै आँट नरहेको उनको आरोप छ । प्रचण्डको टाउकोमाथि विदेशी शक्तिहरुले तरबार झुण्ड्याएको उनको दाबी छ । प्रचण्डले विदेशीले भनेको नमानेर देश र जनताको पक्षमा काम गरेको खण्डमा विदेशी शक्तिले द्वन्द्वकालीन मुद्दा व्युँताएर प्रचण्डलाई सकाई दिने भएकोले अहिलेको सरकार विदेशीको इसारामा चलेको उनले बताए ।

‘उहाँको ठाउकोमाथि तरबार झुण्ड्याइएको छ । हामी सबैले बुझेका छौं, युद्धकालमा उहाँले गरेका जुन अपराधहरु छन्, त्यो चाहिँ आज अन्तराष्ट्रिय समुदायले उहाँको टाउकोमाथि तरबार झुण्ड्याएको छ । हामीले भनेको भन्दा दायाँबायाँ गर्नुभयो भने यो तरबार तपाईँको टाउकोमा बज्रिन्छ भनिएको छ,’– उनले भने ।

मलाई नेपाली जनताले प्रधानमन्त्री बनाएको हो, म नेपाली जनताको लागि काम गर्छ भन्नसक्ने प्रचण्डमा हिम्मत नरहेको उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot