Logo

‘विचरा ! महामन्त्री, चरी जेलैमा’



काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले पदाधिकारीबीच समन्वय नभएको र कांग्रेसले जनताको भावना अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) पार्टीको केन्द्रीय समिति बैकठलाई सम्बोधन गर्दै उनले विधानले सबै काम सभापतिको जिम्मामा दिँदा महामन्त्रीहरु काम विहीन अवस्थामा बसेको टिप्पणी गरेका हुन् । महामन्त्रीले कार्ययोजना पेश गर्दा महिला, दलित, पिछडिएका वर्ग लगायतको मुद्दा सम्बोधन गर्न नसकेको उनको आरोप छ ।

‘महामन्त्री विचरा ! बबुरा देखिरहेको छु । विधानमा अधिकार खोज्यो केही पाइँदो रहिन छ । चरी जेलैमा । सबै सभापतिले गर्ने भनेको रहेछ,’– उनले भने ।

अहिलेको युगमा जनताको मुद्दामा आधारित भएका राजनीति गर्न उनको सुझाव छ । महामन्त्रीले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामा पचास लाख युवाको मुद्दा नसमेटिएको भन्दै उनले आपत्ति जनाए ।

‘११ महिनासम्म बैठक नबस्ने कुरा कुन पार्टीको केन्द्रीय सदस्यले ठीक थियो भन्छ ? ल भन्नुस् । २१औं शताब्दीमा मुद्दाले राजनीति गर्ने हो । जनताका मुद्दा के छन् । कार्ययोजनामा खै त पचास लाख युवाहरुको मुद्दा ?’– उनले प्रश्न गरे ।

कार्ययोजनाले सामाजिक न्याय र महिला हिंसालाई सम्बोधन गर्न नसकेको उनको आरोप छ । समाजमा नेपाली कांग्रेस भ्रष्टाचार भन्नेवित्तिकै मुख थुन्छ, कानमा रुई हाल्छ, आँखा बन्द गर्छ भन्ने भ्रम रहेको र त्यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्