Logo

देशमा यस्तै छ (कविता)



  • सुविन कान्जीभाई

राजनितिले देश ताते पनि,
देशको मौसम एकदमै चिसो छ ।
सिंहदरबारमा लगाईएको एसीले,
तात्दैन जुम्लाको झुपडी ।
मेरियट होटलमा लगाईएको पार्टीले,
भर्दैन रसुवाको सुनकाईली सुनारको पेट ।
देशमा यस्तै छ !

मन्त्रीको क्वाटरमा,
बधाई दिन जाने लाइनले देख्दैन
राहदानी विभागमा बसेको लाईनलाई ।
मालपोत कार्यलयमा भैरहेको
भस्ट्राचारले थाहै पाउदैन्,
हरेक दिन देश लुटिईरहेको ब्यथा ।
टेबुलमुनीबाट भएका सम्झौताले देख्दैन,
ओडारमुनि बसेका राउटेलाई ।

हरेक वर्ष प्रधानमन्त्री फेरिन्छन्,
फेरिदैन देशको अवस्था ।
रास्ट्रपति फेरिन्छन्,
फेरिदैन देशको स्वरुप ।
चुनाव भने आईरहन्छ,
आउदैन देशमा समृद्धि ।
वर्षौ पहिले लोग्ने हराएको,
यौवना जस्तो भएको छ देश ।
देशमा यस्तै छ !

हरेकवर्ष मन्दिरमा आएको बजेटले,
फेर्दैन देशको शिक्षा गुणस्तरलाई ।
चोकमा राखेको कुरुप
बाघको सालिकले,
भर्दैन झुपडीको भोकको आयतन ।
खादा भिरेर मन्चमा सपना बाड्न बसेका नेताले,
देख्दैनन् झोला बोकेर विदेशीएका युवालाई ।
देशमा यस्तै छ !

विदेशबाट भित्रिएको रेमिटेन्सले,
कति दिन ढाक्न सक्ला देशको लाजलाई ?

देशभित्र भित्रिएको भ्रष्टाचारले,
कति दिन जोगाउन सकिएला देशलाई ?

एकैदिन अखबारमा दुईटा समाचार आँउछ,
माथिकै मिलेमत्तोमा भित्रियो सयौं किलो सुन ।
खाडीबाट फर्किँदै गरेका मजदुरका मोबाईल,
समातियो विमानस्थलकै गेटबाट ।

अखबारमा फेरि अर्को समाचार पनि आँउछ,
प्रसुति गृह नपुग्दै गर्भवती महिलाको मृत्यु ।
स्वस्थ्यमा खराबी आएको भन्दै,
पूर्वमन्त्री लागे विदेशतिर ।
देशमा यस्तै छ !

भो कति गर्नु,
दुःखका कुरा ।
कति गर्नु देश दुखेको कुरा ।
सपनाहरू हराएको कुरा ।

देशमा यस्तै छ !

 



प्रतिक्रिया दिनुहोस्