काठमाडौं, ५ साउन । नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार गर्ने आफ्नो पराई कसैलाई पनि नछाड्ने भएपछि एमाले आत्तिएर राजीनामा मागिरहेको टिप्पणी गरेका छन् ।
उनले सरकार इतिहासकै सबैभन्दा सफल भएको दाबी गर्दै यस्तोबेलामा एमालेले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नरहेको बताएका छन् ।
‘एमालेले माग्ने नै राम्रो काम गर्नेहरूको राजीनामा हो । कहिले प्रधानमन्त्री कहिले गृहमन्त्रीको ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘त्यो पनि इतिहासकै सफल सरकारको रूपमा काम गरिरहेको बेलामा । किनकी यो सरकार भ्रष्टाचार गर्ने आफ्ना वा पराई कसैलाई छोड्दैन । विचरा राजीनामा नमागेर पनि के गरोस् त ?’
सरकारले वाइडबडी, ओम्नी लगायतका भ्रष्टाचारको फाईल खोल्ने सुईँको पाएपछि एमाले आत्तिएको उनको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जग्गा सुनिश्चित नगरी ४१६ अस्पताल, ४५ प्रतिशतमात्र काम सकिएको धरहराको उद्घाटन, १७ हजार किलोमिटर सडक बालुवाटारको कोठाबाटै उद्घाटन गर्दा राज्यको नामबाट भएको करोडौं खर्चको हिसाब खोज्ने भएपछि एमालेमा थप छट्पटी बढेर प्रधानमन्त्री र गृहमन्त्रीको पालैपालो राजीनामा मागेको उनले बताएका छन् ।
एमालेले देश रित्तो बनाएर आफू र आफ्ना मान्छे धनी बनाउन चाहेको उनको आरोप छ ।