Logo

कांग्रेस सांसद शर्माको गुनासोः ‘पार्टीका क्याडरले बहिस्कार र जनताले तिरस्कार गरेका महतको अर्थनीतिमा देश चल्नु परेको छ’



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभामा सदस्य डा. सुनिल शर्माले अर्थमन्त्री प्रकाशशरण महतलाई पार्टीका क्याडरले बहिस्कार र जनताले तिरस्कार गरिसकेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महतलाई १४औं महाधिवेशनमा पार्टीका क्याडरले बहिस्कार गरेको बताए । साथै प्रतिनिधि सभामा निर्वाचनमा जनताबाट अनुमोदित हुने कुनै आधार नभएकाले महत समानुपातिक सांसद बनेको उनको आरोप छ ।

‘अहिलेको अर्थमन्त्री महामन्त्रीको चुनाव लड्नु भएको हो कि होईन ? नेपाली कांग्रेसको क्याडरले बहिस्कार गरिसकेको हो कि होईन ? फेलर मान्छे हो नि उहाँ राजनीतिमा । अहिलेका अर्थमन्त्रीले अहिलेसम्म कही चुनाव जितेको तपाईँले देख्नु भएको छ ?’ प्रश्न गर्दै उनले भने, ‘उहाँले पावरको वरिपरी घुमेर चाकडी गरेर, टिकट दिने ठाउँमा पनि उहाँ हुनुहुन्थ्यो । हाम्रा टिकट बाँड्ने पनि उहाँहरु नै हो । अहिले प्रदीप पौडेल लड्नु भएको क्षेत्र छ नि, त्यो क्षेत्रबाट त उहाँले टिकट लिएर जान सक्नुहुनथ्यो नि ? नुवाकोटबाट लिन सक्नुहुन्थ्यो । किन लिनुभएन भन्दाखेरी उहाँसँग जित्ने आधार थिएन । आफ्नो हातमा टिकट भएको मान्छे नत्रभने समानुपातिकामा बस्नुपर्ने कारण के ?’

पार्टीमा लामो समय योगदान भएका, पिछडिएको, मधेशी र महिलाहरु कांग्रेसबाट अहिले मन्त्रिमण्डलमा नपरेको उनको दाबी छ । टिपेर ल्याइएका, जनताले तिरस्कार गरेका र चुनाव लड्दा जित्न नसक्ने मान्छेलाई अर्थमन्त्री बनाइएको उनको टिप्पणी छ ।

‘माननीयहरुलाई मैले तीनवटा क्याटागोरीमा डिभाईड गरेँ । माननीय, छाननीय, ताननीय । ताननीयहरुलाईं लगेर गृहमन्त्री, अर्थमन्त्री बनाइएको छ । उनको अर्थनीतिमा देश चल्नु परेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्