Logo

कांग्रेसले बिपीको विचार र चिन्तन छाडेको छैनः महामन्त्री शर्मा 



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन् ।
बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका हुन् ।
“लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बिपीलाई चिन्नुपर्छ, बिपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, बिपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन”, उनले भने ।
महामन्त्री शर्माले नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको गुनासो गरे ।  “बिपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुप¥यो”, महामन्त्री शर्माले भने ।
उनले तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । “हामीले विसं २०८४ को निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो”, उनले भने ।  File Photo/RN 



प्रतिक्रिया दिनुहोस्