काठमाडौं,७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन् ।
आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कम्यनिष्ट पार्टीहरु आफ्नो आफ्नो पसल थापेर आ आफ्नै पारामा चलिरहेको गुनासोसमेत गरेका छन् ।
उनले भने ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । सबै कम्युनिस्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेक खानु हुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्न सक्छौँ । त्यत्ति धेरै ऊर्जा पैदा गर्न सक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’