काठमाडौं,७ साउन । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसमा उठिरहेको रुपान्तरणको वहसप्रति आपत्ति जनाएका छन् ।
पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै निधिले कांग्रेसलाई रुपान्तरण गर्न अनुहार,नाम र पद परीवर्तन गरेरमात्रै नहुने बताएका हुन् ।
“अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पु¥याउँदैन । संघीयता छ, तीन तहको सरकार छ । तीनै तहमा गर्नुपर्ने काम धेरै छ, रूपान्तरणका लागि,” उनले भने, “राज्यको पुनर्संरचनापश्चात् संघीयता, लोकतान्त्रिक गणतन्त्र प्रणालीका लागि अझै काम गर्नुपर्नेछ । यसका लागि कांग्रेसलाई तयार पारौँ ।”
निधिले व्यक्ति र नामभन्दा पनि दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
“अझै पनि नेपाली कांग्रेसमाथि जनताले भरोसा गर्छन् । पाँच वर्षपछि रूपान्तरणका लागि बहुमत ल्याउने गरी चुनावको तयारी गरौँ । प्रदेशको अधिकार प्रदान गरौँ । संविधान र कानुनमा संशोधन आवश्यक भए गरौँ,” उनले भने ।