Logo

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारलाई धमलाको प्रश्नः ‘एक सय किलो सुन गायव त हुँदैन नि ?’



काठमाडौं, ७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सुन तस्करी प्रकरणमा गहिराईसम्मै पुगेर छानविन गरिने बताएका छन् । हिजो (शनिबार) प्राईम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले उक्त प्रकरणमा गहन ढंगले छानविन र अनुसन्धान चलिरहेको बताएका हुन् । उनले सुन तस्करी प्रकररणमा संलग्न जोसुकै भएपनि उन्मुक्ति नपाउने दाबी गरे ।

सरकारको निकाय राजश्व अनुसन्धानले पक्रिएको एक सय किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर आउनु् ठूलो कमजोरी भएको उनले बताए । कहाँ के–के कमजोरी भए र को–को संलग्न छन् भन्ने कुरा अनुसन्धानको क्रममा खुल्ने पनि उनले बताए ।

एक सय किलो सुन गायव त हुँदैन नि ?’ भन्ने धमलाको प्रश्नमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा ३३ किलो सुन प्रकरणमा संलग्नहरुलाई पक्रिएको तर सुन सार्वजनिक नगरिएको बताए । त्यस्तै अहिले अभियुक्त र सुनसँगै पक्रिएकाले शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको उनको भनाई छ ।

‘गायव हुँदैन । राष्ट्र बैकमा लगिसकियो । ३३ किलो सुनको विषय धेरै अगाडि बढ्यो । गिरफ्तारी पनि भयो । अहिले केही मान्छेहरु जेलमा छन् । तर, सुन चाहिँ भेटिएन । अहिले सुनसहित अभियुक्तहरु गिरफ्तार भएका छन् । अब अनुसन्धानको प्रक्रिया अगाडि बढिराखेको छ । त्यो त सकारात्मक रुपमा लिन पर्यो,’– उनले भने ।

अहिले पक्राउ परेका मान्छेहरुको हैसियत के हो ? तिनीहरुले सुन किन्न सक्छन् कि सक्दैनन् ? तिनीहरु वास्तविक दोषी हुन् कि प्रयोग गरिएको हो भन्ने बारेमा पनि छलफल भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्