काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा साम्राज्यवादीहरुले सेनाको व्यारेक खडा गर्न चाहेको बताएका छन् । आज (सोमबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्ड हीनता’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले साम्राज्यवादी शक्तिहरुले विभिन्न शर्तहरु थुपरेर नेपाललाई २१औं शताव्दीको उपनिवेशमा बदल्न चाहेको उनको आरोप छ ।
‘नेपालमा साम्राज्यवादीहरुले सेनाको व्यारेक खडा गर्न चाहेका छन् । नेपालमा उनीहरुले विभिन्न शर्तहरु थुपरेर हाम्रो देशलाई २१औं शताव्दीको उपनिवेशमा बदल्न चाहेका छन् । नेपालको ईन्च–ईन्च धर्तीमा आँखा गाडेका छन्,’– उनले भने ।
उनले नेपालमा कसैले व्यारेक खडा गर्ने कालो सपना देख्छ भने वा उपनिवेश बनाउने षड्यन्त्र गर्छ भने त्यो सफल नहुने बताए । नेपालमा एनजिओ र संघ संस्थाहरुले विदेशीको गोटी बनेर गलत काम गरेको उनको आरोप छ । नेपाल २०४७ सालको संविधानमा फर्किन नसक्ने उनले बताए । यथास्थितिमा पनि नेपाल बस्न नसक्ने उनले बताए ।