काठमाडौं, ९ साउन । नेपाली कांग्रेसभित्र यतिबेला संसदीय दलको नेता परिवर्तनको बहसले निरन्तर चलिरहेको छ । संघमा संसदीय दलको नेता चयनका क्रममा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा भएको थियो । सभापति र महामन्त्रीको प्रतिस्पर्धामा देउवाले नै बहुमत पाएका थिए । उता बागमति प्रदेशमा पनि प्रदेश संसदीय दलको नेता चयनमा बहादुर सिंह लामा र इन्द्र बानियाँबीच प्रतिस्पर्धा भएको थियो । बागमति प्रदेश संसदीय दलको नेतामा अन्ततः लामा निर्वाचित भए ।
पछिल्लो समय कांग्रेसमा फेरि संसदीय दलको नेता परिवर्तनको बहस सुरु भएको छ । महामन्त्री थापा निरन्तर दलको नेता परिवर्तनको एजेण्डा लिएर हिँडिरहेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा दलको नेता परिवर्त गर्ने एजेण्डाका कारण महामन्त्री थापाले पार्टी कमजोर बनाउने काम गरेको भनेर देउवा समर्थकहरुबाट आलोचना खेप्नुपर्यो । केन्द्रीय सिित बैठकमा व्याक टु क्याक आलोचनाको सिकार बनेका महामन्त्री थापाले हिजो (सोमबार) बैठकलाई सम्बोधन गर्दै आफू संसदीय दलको नेता परिवर्तनका निम्ति लागिरहने बताए । आगामी दिनमा यस बारेमा प्रश्न नगर्नसमेत उनले भने । सभापति देउवाकै अगाडि उनले दलको संसदीय दलको नेता बदल्ने कोशिस जारी राखेको र उक्त प्रक्रिया जारी नै रहने बताए । ‘म दलको नेता बदल्न लागिराख्छु । सक्निभए बदल्छु । नसक्नी भए चुप लागेर बस्छु । मान्छु, मानेकै छु,’– महामन्त्री थापाले भने ।
दलको नेता बदल्ने कुरा गर्दा केही साथीहरु आत्तिएको भन्दै उनले नआत्तिन सुझाव दिए । आफूले पार्टी फुटाउने कुरा गरेको नभएर केवल दलको नेता बदल्ने कुरामात्रै गरेको उनले बताए । सभापति शेरबहादुर देउवाले पनि पार्टीमा पटक–पटक दलको नेता बदल्ने कोशिस गरेको स्मरण गराउँदै उनले यसमा देउवाका वरिपरी बसेकाहरुले धेरै चिन्ता गर्न नपर्ने बताए ।
‘साथीहरु धेरै किन आत्तिनु भएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । सभापतिजीले दलको नेता फेर्दैफेर्दै आएकाले मैले पनि गरेको हो, यसले पनि कोशिस गर्छ भन्ने लागेछ । वरिपरी बस्ने साथीहरुलाई यो कुराले कत्रो धेरै चिन्तित बनायो । धेरै यस बारेमा चिन्ता गर्न पर्दैन ।’– उनले भने ।
यता, नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापतिसमेत रहेका प्रदेश सभा सदस्य बानियाँले कांग्रेसको इतिहासमा हिजोका दिनमा पनि दलको नेता परिवर्तनको प्रयास र कार्य भउको भन्दै त्यसलाई अनर्थ लिन नहुने बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको जीवनलाई पुनर्जीवन दिनका लागि कहिले काही दलको नेता परिवर्तन गनु आवश्यक हुने बताए ।
‘सभापति शेरबहादुर देउवालाई हटाएर गगन थापा हुन चाहनुहुन्छ । उहाँले त हिजो संसदीय अभ्यासमा भाग लिइसक्नु भयो । सभापतिसँग महामन्त्रीले संसदीय दलको नेताको प्रतिस्र्धामा भाग लिएको हो । नेपाली कांग्रेसको इतिहासमा हिजोको दिन स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई एक वर्षको भावी प्रधानमन्त्री भनेर आएपछि त्यो बेलामा उहाँ प्रधानमन्त्री हुनुभयो । पछि अविश्वास राखेर गिरिजाबाबु फेरि प्रधानमन्त्री हुनुभयो । त्यसपछि गिरिजाबाबुलाई पनि हाम्रो सभापति शेरबहादुर देउवाले अविश्वास राख्नु भएको छ । पार्टीको जीवनमा कांग्रेस कहिले काही कमजोर भयो कि, टोटल सिस्टममा कांग्रेसको भूमिका कमजोर भयो कि ? मुलुकको अहिलेको व्यवस्था नै कमजोर हुन लाग्यो कि भनेपछि पार्टीको नेतृत्वभित्र प्रतिस्पर्धा गर्नेले फेरि पनि प्रतिस्पर्धा हुनसक्छ भन्ने कुरालाई कांग्रेसभित्र यसलाई अन्यथा मान्न हुँदैन,’– उनले भने ।
बागमती कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाप्रति दलका सांसदहरुको भरोसा टुट्दै गएको खण्डमा आफूले संसदीय दलको नेता परिवर्तनको प्रयास गर्ने उनको भनाई छ । बहुमत सांसदहरुले संसदीय दलको नेता पु्नर्विचारको आवस्यकता देखेको खण्डमा आफू तयार रहेको पनि उनले बताए ।
‘समयको माग र साथीभाईहरुले हिजो नेतृत्वतर्फ गरेको भरोसा टुट्यो । प्रदेशमा टुट्यो, संघमा टुट्यो । भोलि परिस्थिति निर्माण हुने अवस्था आयो भने बहुमत साथीहरुले भोलिका दिनमा बहादुरजीबाट बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताले खेलेको भूमिकाको आधारमा बहुमत साथीहरुले पुनर्विचार गर्नुपर्छ भन्ने विचार आयो भने त्यो बेलामा सोच्नुपर्छ,’– उनले भने ।