काठमाडौं,९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बढूले पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको वार्षीक कार्ययोजनालाई सहीरुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै बढूले महामन्त्रीले ल्याएको प्रस्ताव एउटा व्यक्तिको मात्र नभइ संस्थाको प्रस्तावको रुपमा लिनुपर्ने बताए ।
उनले भने “केन्द्रीय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत, यो सबैको एजेन्डा र कार्यक्रम हो । संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकताबद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो । यसले पार्टीमा नयाँ जीवन दिन्छ । यो अब महमन्त्रीको कार्ययोजना नभई संस्थाको रूपमा लिनुपर्छ । यसरी गए पार्टी निश्चित रूपमा अघि बढ्छ । पार्टीभित्र हाम्रो एकता छ, एकताबद्ध ढंगले जान्छौँ ।”