Logo

वरिष्ठ सई मृत्यु प्रकरण: अनुसन्धानका लागि होटल सञ्चालक आमाछोरा पक्राउ



काठमाडौं,९ साउन । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो । अनुसन्धानका लागि उक्त होटलका सञ्चालक र उनका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो ।

इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेल नजिकैको सो होटलमा मृत फेला परेका थिए । पौडेलको शव होटलकाले भुइँतल्लामा भुइँमा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको प्रहरीचौकीले जनाएको छ । राति १० बजे अन्य प्रहरी जवानलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot