Logo

गण्डकी बाहेक सबै प्रदेशमा एमालेले तोक्यो अधिवेशनको मिति



काठमाडौं,९ साउन । प्रदेशमा अधिवेशन भएको दुई वर्ष नपुग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश बाहेकका अन्य ६ प्रदेशमा अधिवेशनको मिति टुंग्याएको छ ।

एमालेले २०७८ को माघ ८ गते एकैपटक जिल्ला,प्रदेश र वडाको अधिवेशन सम्पन्न गरेको थियो । एमालेको विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन गर्ने उल्लेख भएपनि यसपटक दुई वर्षमै महाधिवेशन हुन् लागेको हो ।

एमालेले तोकेको मिति अनुसार सबैभन्दा पहिले लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ । जसको लागि भदौ १६ र १७ गतेको मिति तय भएको छ । भने सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौ २२ र २३ मा हुनेछ । त्यस्तै कर्णाली प्रदेशले भदौकै २९ र ३० गतेको मिति तय गर्दा मधेश प्रदेशले असोजको ५ र ६ गते अधिवेशन गर्नेछ ।

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशको अधिवेशन भने असोज ८ र ९ मा आयोजना हुनेछ । त्यस्तै कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते गर्ने गरी एमालेले मिति तोकेको हो ।

एमालेले ६ प्रदेशको अधिवेशन मिति तोकेपनि गण्डकीको भने मिति तय भएको छैन । सो प्रदेशमा आन्तरिक तयारी नपुगेको कारण तत्काल मिति तय नभएको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्