काठमाडौं,९ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
जनमतले यही साउन १८ गतेका लागि बैठक बोलाएको हो । बैठकमा विभिन्न विषयमा छलफल हुने जनमतले जनाएको छ ।
जनमतले बैठकमा उपस्थित हुँदा केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनेको छ ।
जनमत पार्टीमा १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति छ।
सरकारलाई समर्थन गरेर पनि सत्ता बाहिर रहेको जनमत पछिल्लो समय सरकारमा जाने चर्चा चलिरहेको छ । जनमतले सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको छ । जनमतले पार्टीबाट अनिता साहलाई मन्त्री बनाउने औपचारिक निर्णय गरिसकेको छ । तर जनमतले निर्णय गरेकै भोलिपल्ट प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक परेपछि जनमतको सत्तायात्रा लम्बिएको थियो ।
हाल प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा रहेका छन् । जनमत स्रोतका अनुसार दाहाल इटालीबाट फर्किएपछि जनमतलाई समेटेर मन्त्रिपरिषद हेरफेर गर्ने तयारी रहेको छ । जनमतले सरकारमा सहभागी हुन् कृषि उद्योग ना सहरी विकास जस्ता महत्वपूर्ण मन्त्रालय माग गरेको छ । पार्टीको १८ गते बस्ने बैठकमा यस विषयमा छलफल हुने जनमतले जनाएकोछ ।