Logo

पत्रकार कुट्ने रास्वपाका निलम्बित नेताविरुद्ध प्रहरीमा उजुरी



काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर होटल होलि डे इनमा लगेर बन्दी बनाइ कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

सोमबार खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी होटल होलि डे इनमा लगि कुटपिट गरेको भन्दै मण्डेलले प्रहरीमा उजुरी दिएका हुन् ।

पत्रकारलाई अपहरण गरी कुटपिट गरेको उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए ।

मंगलबार पत्रकार महासंघ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र चौतारीका तर्फबाट सहसचिव सुरश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका थिए ।

उता पत्रकार कुटेको घटना सार्वजनिक भएसँगै खड्का भने रास्वपाबाट निलम्बनमा परेका छन् । पत्रकार कुट्ने खड्का पहिले नेपाली कांग्रेसमा आवद्ध रहँदै विवेकशील साझामा प्रवेश गरेका थिए । केही समय पहिले साझा पार्टी त्यागी रास्वपा प्रवेश गरेर जिल्ला संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्