Logo

कम्बोडिया भ्रमणका क्रममा ओलीद्वारा ‘युनिभर्सल पिस फेडेरेसन’ को कार्यक्रम सम्बोधन



काठमाडौं, १० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडिया भ्रमणका क्रममा नेपालमा विवादास्पद ‘शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (होली वाईन भनेर चर्चा कमाएको संस्था) लाई सम्बोधन गरेका छन् ।

इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई ओलीले गत साउन ६ गते सम्बोधन गरेका हुन् । उनको सचिवालयले ‘निर्वाचन पर्यवेक्षेणमा कम्बोडिया पुग्नु भएका अध्यक्ष केपी शर्मा ओलीले आज ‘शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्नुभएको छ,’– भनेर केही फोटाहरु सार्वजनिक गरेको छ ।

एसिया प्यासिफिक सम्मेलन (२०७५ मंसिर) को क्रममा युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एक कार्यक्रम इसाई धर्मको प्रचारका लागि भन्दै विवादमा तानिएको थियो ।

कोरियाली नागरिक सन प्युङ मनले सन् २००५ मा स्थापना गरेको युनिभर्सल पिस फेडेरेसन उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलाई जोडीसहित होली वाइन समारोहमा उपस्थित गराएको थियो । इसाई धर्मको प्रचार गरेको भन्दै उक्त कार्यक्रमको व्यापक आलोचना भएको थियो ।

उक्त कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने सहभागिता जनाएका थिएनन् । तर, उक्त संस्थाले ओलीलाई ‘गुड गभर्नेन्स अवार्ड’सहित एक लाख डलरको पुरस्कार प्रदान गरिएको थियो । ‘सच्चा माता’ भनिने हाक जा हान मुन दक्षिण कोरियाकी धर्मगुरुले ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी थिईन् ।

हायात होटलमा आयोजित उक्त कार्यक्रममा रक्तसुद्दी गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाइएको थियो । प्लास्टिकको कपमा पहेँलो पदार्थ सबै जोडीहरुलाई पिउँन दिइएको थियो । हाक जा हान मुनले सबै जोडीहरुलाई ‘पवित्र रक्सी’ ले सेचन गरिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot