काठमाडौं, १० साउन । काठमाडौं विश्वविद्यालय (केयु) ले नयाँ स्कीम (स्वतः रोजगारी) कार्यक्रम ल्याएको छ । नेपालकै इतिहासमा पहिलो पटक केयुले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ‘स्वतः रोजगारी’ कार्यक्रम ल्याएको हो । केयुका उपकुति प्रा.डा भोला थापाको भिजनमा विश्वविद्यालयसंग रोजगारी जोड्ने उद्देश्यले ‘काठमाण्डौ विश्वविद्यालय रोजगारी प्रवद्र्धन कार्यविधि २०२३’ पारित गरी यो कार्यक्रमलाई संस्थागत गरिएको छ । केयुको मंगलबार बसेको कार्यकारी परिषद्ले कार्यविधि २०२३ पारित गरेको हो । यो कार्यविधि अन्तर्गत आउने नयाँ विद्यार्थी र २८औँ दीक्षान्त समारोह मार्फत स्नातक तहमा उच्च अंक ल्याउने विद्यार्थीबाट यो कार्यक्रम प्रारम्भ हुनेछ ।
विश्वविद्यालयले विद्यार्थी उत्तीर्ण गराउने मात्रै दायित्व नभै दक्ष भएपछि स्वदेशमै रोजगार प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम ‘लन्च’ गरिएको उपकुलपति प्रा.डा थापाले बताए । ‘नेपाली विद्यार्थीहरु नेपालमै नबसी विदेशमा पढ्न जाने जुन लर्को लागेको छ, त्यसको मुख्य कारण नेपालमा गुणस्तरीय शिक्षा र आफुले चाहेको विषय पढ्न नपाएर भन्दा पनि पढाईपछिको रोजगारीको बलियो आधार नहुनु पाइएको छ । रोजगारीका लागि विदेशिनेको संख्या ठूलो छ । दक्ष युवा पुस्तालाई आफ्नै देशमा रोजगारी सिर्जना गर्न यो कार्यक्रम शुरु गरिएको हो । नेपाल पनि रोजगारीका लागि राम्रो गन्तब्य छ भन्ने सन्देश दिन यो कार्यक्रमले मद्दत गर्नेछ,’– उपकुलपति प्रा.डा भोला थापाले भने ।
यो कार्यक्रम अन्तर्गत हाललाई ७० देखि ७४ जना स्नातक उत्र्तीणले रोजगारी पाउने छन् । त्यसका लागि केयुले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ खर्च गर्नेछ । रोजगारी प्राप्त गर्नेलाई नेपाल सरकारले प्रदान गर्ने सरकारी तलबमान भन्दा केही थपेर तलब दिइनेछ । नेपाल सरकारले केही आर्थिक सहयोग गर्ने हो भने अहिलेको रोजगारी संख्या बढाउन सकिने केयुले जनाएको छ । थप आर्थिक सहयोगका लागि प्रधानमन्त्री तथा कुलपति र शिक्षा मन्त्री तथा उपकुलपति मार्फत नेपाल सरकारलाई केयुले औपचारिक जानकारी समेत गराईसकेको छ । ‘अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा जस्तै केयुले शुरु गरेको ‘स्वतः रोजगारी’ कार्यक्रममा नेपाल सरकारले केही रकम थपिदिने हो भने यसको महत्व अझ बढ्छ र यो कार्यक्रमको स्वमित्व नेपाल सरकारले पनि लिनुपर्छ भन्ने हाम्रो चाहाना हो ।’ उपकुलपति प्रा.डा थापाले भने ।
सो कार्यक्रम केयुको प्राज्ञिक औद्योगिक सहकार्य विभागले सञ्चालन गर्नेछ । यो स्कीम अन्तर्गतको रोजगारी बढीमा १ वर्षसम्म मात्रै लागू हुने विभागका संयोजक डा.राम लामाले जानकारी दिए । केयुका सबै विधाबाट स्नातक तहमा सर्वोउत्कृष्ट अंक ल्याएका विद्यार्थीका लागि यो स्कीम लागु हुनेछ । कार्यविधि अनुसार केयु भित्रै र स्वदेशका विभिन्न रोजगार दाता निजी कम्पनीले केयुबाट उत्पादित दक्ष जनशक्तिलाई राख्न सक्नेछन् ।
कुनै पनि निजी कम्पनी तथा संघसंस्थाहरुले केयु र केयुबाट सम्बन्धन प्राप्त भएका कलेज मार्फत स्नातक उत्तीर्ण गरेका विद्यार्थी केयुकै लगानीमा राख्न सक्नेछन् । त्यसका लागि कम्पनीले केयुको प्राज्ञिक औद्योगिक सहकार्य विभागसंग माग गर्नुपर्ने छ । ती कम्पनीले केही निश्चित मापदण्ड भने पुरा गर्नुपर्ने छ । त्यसपछि केयुले आफ्नो स्नातक विद्यार्थीलाई त्यस्ता कम्पनीमा रोजगारीका लागि पठाउनेछ । जसको सम्पूर्ण तलब केयुले लगानी गर्नेछ ।