Logo

‘ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई जेल हाल्ने दम छ ?’



काठमाडौं, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई कारबाही गरिनुपर्ने बताएका छन् ।

उनले आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सरकार र गृहमन्त्रीको हिम्मत छ भने उक्त प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन् । व्यापारी र टिप्पणी उठाउने कर्मचारीलाई कारबाही गरेरमात्रै उक्त समस्या समाधान नहु्ने उनले बताए ।

‘धान खाने मुसो, चोट पाउने भ्यागुतो ! यस्ता किसिमका गतिविधिले राज्य अगाडि बढ्दैन । यदि दम, हिम्मत छ भने, साच्चै यो देशको हितमा काम गनेृ सोच र क्षमता छ भने तत्कालीन दुई जना प्रधानमन्त्रीलाई जेल हाल्नुपर्छ । उनीहरुलाई पक्राउ गर्नुपर्छ,’– उनले भने ।

तत्कालीन प्रधानमन्त्रीद्वयहरुले विभिन्न मितिमा ललिता निवासको एक सय १३ रोपनी जग्गामा नक्कली मोही खडा गरेर बाँडेको उनको आरोप छ । मन्त्रिपरिषद्को निर्णयको कागज देखाउँदै उनले उक्त प्रकरणका दोषीहरु अहिले कोही सदनमै आइरहेको र कोही सडकबाट कराइरहेको बताए । ललिता निवास प्रकरणमा सानालाई मात्रै समातेर गृहमन्त्री रामजात्रा हेरेर बसेको उनको आरोप छ ।

‘बालुवाटारको ललिता निवास प्रकरणमा मान्छे पक्राउ गरेर स्टनट बाजी भइराख्यो । म मन्त्रिपरिषद्को निर्णय देखाउन चाहन्छु । २०६६ साल चैत्र २९ गते, २०६७ साल वैशाख ३१ गते, २०६७ साल साउन २८ गते र २०६९ साल असोज १८ गते गरी तत्कालीन मन्त्रिपरिषद्ले बालुवाटारमा नक्कली मोही खडा गरेर तत्कालीन प्रधानमन्त्रीहरुले एक सय १३ रोपनी जग्गा दिन्छन् । आज ती पूर्व प्रधानमन्त्रीहरु, ती मन्त्रिपरिषद्का मान्छेहरु तिनीहरु आज कोही सदनमा आइरहेका छन् । कोही बाटोमा कराइरहेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्