काठमाडौं,११ साउन । राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक देवेन्द्र दाहालले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संगल्नता रहेको स्प्रष्ट आधार भेटिएको दाबी गरेका छन् ।
बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले सुन तस्करीजस्तो गम्भीर अपराध गृहमन्त्रीको संलग्नताविना हुनै नसक्ने बताए । उनले नैतिकताको आधारमा गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने बताए ।
‘साउन तीन गते भित्रिएको एक सय किलो सुन भन्सार कार्यालयबाहिर बाट बरामद भयो चाल्स सोभराजले भनेजस्तै हवाइ मार्गबाट हात्तिसमान सुन भित्रिँदा थाहा नपाउने यो सरकार खासगरी गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । सिंगो भन्सार कार्यालयको सुरक्ष व्यवस्था कस्तो छ ? त्यस्को जवाफ कसले दिने ? गृहमन्त्री, अर्थमन्त्री र सिंगो यो सरकारले दिनुपर्ने होइन र ? । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताविना हुन सक्ला र?’। उनले भने ।
गत साउन तीन गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको भन्दै एमालेले राजीनामा मागेको हो ।
एमालेले बुधबारको प्रतिनिधिसभाको बैठक पनि दुई मन्त्रीको राजीनामा माग्दै अवरोध गरेको थियो । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म स्थगित भएको थियो ।