काठमाडौं,११ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज फैसला हुँदैछ ।
गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई भएको थियो ।
सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासले यस मुद्दाको टुंगो लगाउने भएको हो ।
सरकार बनाउन बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको विषयलाई लिएर निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट हालेका हुन् । उनले उद्धव थापाको नियुक्ति बदर गरी आफैलाई मुख्यमन्त्री बनाउन परमादेश माग गरेका छन् ।
यस रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै गत असार २७ गते सपना प्रधान मल्लको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो भने गत साउन ८ गते न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले सम्बैधानिक ब्याख्या आवश्यक पर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश जारी भएको थियो ।
सउन ८ को फैसला बमोजिम गत मंगलबार र बुधबार सर्वोच्चका न्यायाधीशत्रय भट्टराई, श्रेष्ठ र खतिवडा सम्मिलित पूर्ण इजलासले दुई दिन बहस गरेको थियो ।
बुधबार नै फैसला हुने भनिएपनि विविध कारणले फैसला हुन नसक्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त रिटमाथि आज दिउँसो ३ बजेसम्म आदेश आउन सक्ने सम्भावना रहेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिर्पोटस नेपाललाई जानकारी दिए ।