Logo

हामीले गरेको गल्ती सर्वोच्चले करेक्शन गर्‍यो, फैसला स्वीकार गरेर अगाडि बढ्छु: बाबुराम गौतम



काठमाडौं,११ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सर्वोच्च अदालतले गरेको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने बताएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति गर्न हस्ताक्षर गरेपछि विवादित बनेका गौतमले आफु संविधान अनुसार चल्नुपर्नेमा केही गल्ती भएको हुँदा अदालतले करेक्शन गरेको बताए ।

‘म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो एउटा नयाँ परिवेशमा,परिस्थितिमा एउटा खालको निर्णय गरिएको थियो, सर्वोच्चले त्यसलाई करेक्सन गर्‍यो,सर्वोच्चको अन्तिम आदेशलाई मैले बेठीक रुपमा लिने कुरा आउदैन’। रिर्पोटस नेपालसँग संक्षिप्त कुरा गदै गौतमले भने ।

उनले सर्वोच्चको फैसलापछि सभामुखकोरुपमा आफुले राजीनामा दिने भनि गरिएको प्रचारमा कुनै सत्यता नरहेको बताए ‘सर्वोच्चले नियुक्ति असम्बैधानिक भनेको हो । सभामुखको राजीनामा माग भएको छैन । कसैले पनि माग नगरेको राजीनामा दिने कुरा आउँदैन । म राजीनामा दिने पक्षमा छैन ’ । गौतमले भने ।

गत असार २१ गते मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गर्दा सभामुख गौतमको हस्ताक्षर प्रयोग भउको थियो । सभामुखको हस्ताक्षर प्रयोग भएकोप्रति आपत्ति जनाउँदै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च गएका थिए ।

कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय आनन्दमोहन भट्टराई, तिलप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्ने फैसला गरेको छ ।



प्रतिक्रिया दिनुहोस्