काठमाडौं,१२ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको पदवहाली गर्न विराटनगर पुगेका छन् ।
बिहीबार निवर्तमान मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि कामचलाउ मुख्यमन्त्रीको हैसियतमा पदभार ग्रहण गर्न कार्की मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।
गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि असार १५ गते पदमुक्त भएका थिए ।
कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले ५ दिनको समय दिएर दुई वा सो भन्दा बढि दलको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन आवश्यक ४७ सांसदको समर्थन जुटाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश सभामा निष्पक्ष हुने सभामुखको अधिकार दूरुपयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्चमा पुगेका थिए । कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बुधबार परमादेश जारी गर्दै थापाको नियुक्ति खारेज गरेपछि नयाँ सरकार नबनेसम्म कार्कीले स्वतः मुख्यमन्त्रीको हैसियत प्राप्त गरेका थिए ।
कार्कीको पुनर्वहाली,सँगै उनको नेतृत्वमा सरकारमा रहेका मान्त्रीहरुले पनि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। एमाले नेतृत्वको सरकारमा एमालेका बुद्धिकुमार राजभण्डारी सामाजिक विकास एवं पर्यटन, वन तथा वातावरण र तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्री थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौला उद्योग, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्री छन्।