Logo

सुन तस्करी प्रकरणमा महरालाई छानविनको दायरामा ल्याउनुपर्छः एमाले नेता लामा (भिडियोसहित)



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य तारा लामाले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन आवश्यक रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आफूहरुको अहिलेको माग भनेको राजीनामा माग्ने नभएर संसदीय सुनुवाई समिति बनाउनु भएको बताए ।

‘अहिले हामीले राजीनामा माग्नुभन्दा पनि नैतिकताको आधारमा छानविनलाई सजिलो पार्नका लागि उहाँहरुले राजीनामा दिनुपर्छ । यसमा गृहमन्त्री, अर्थमन्त्री र सरकारको उच्च तहको मान्छेको संलग्नता नभई यो हिम्मत नै गर्दैन’– उनले भने ।

उनले सुन प्रकरणमा कृष्णबहादुर महराको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् । सुन तस्करी प्रकरणले देशको अर्थतचन्त्रलाईसमेत गम्भीर असर गरेको भन्दै उनले माओवादी नेता महरालाईसमेत यो प्रकरणमा छानविनको दायरामा ल्याउन आवश्यक रहेको उनले बताए ।

‘छानविनको दायरामा कृष्ण बहादुर महरालाई पनि ल्याउनुपर्छ । निश्पक्ष छानविन भयो भने यो आयँछ । यो देशको लागि धेरै अपमानजनक काम भएको छ । यो सरकार संस्थागत रुपले यस्तो काममा लागिराखेको छ । सुन तस्करी अवैध कारोबार, अवैध धन्दामा यो सरकारका धेरै मान्छेहरुको संलग्नता छ,’– उनले भने ।

अहिलेको सरकार गठन भएपछिमात्रै सुन ल्याउने कम्पनी रेडी ट्रेड दर्ता भएको उनले आरोप लगाए । उनले उक्त कम्पनीले यसबीचमा दुई हजार दुई सय किलो सामन भित्र्याएको बताए ।

‘सुन लिने कम्पनी यो सरकार बनेपछि खडा भएको छ । वैशाखमा रेडी ट्रेड कम्पनी दर्ता भएको छ । त्यसले दुई हजार दुई सय किलो सामन भित्र्याईसकेको छ भन्ने छ । त्योमध्ये कति सुन थियो ? छानविन गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्