Logo

भिआईपी र भिभिआईपीलाई सन्चो भएन भने वीर अस्पताल आउनुस्, विदेश जाने भए आफ्नै खर्चमा जानुस्ः स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं, १२ साउन । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले सम्भव हुने उपचार नेपालकै अस्पतालमा गराउन पर्ने बताएका छन् । आज (शुक्रबार) वीर अस्पतालको १३४औं वार्षिकोत्सवको अवसरमा मन्त्री बस्नेतले नेपालमै सम्भव हरेको उचार गराउन कुनै पनि भिआईपी र भिभिआईपी विदेशमा गएको खण्डमा आफ्नै खर्चले उपचार गराउन पर्ने बताएका हुन् ।

‘अब नेपालमा कोही पनि भिआईपी र भिभिआईपीलाई सन्चो भएन भने वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गर्ने । सेवा हामी दिन्छौं । हाम्रो एक्सिलेन्स चिकित्सकहरुको समूह छ । जुन चिकित्सकहरुसँग पढ्नका लागि विदेशबाट डाक्टरहरु यहाँ आउनु हुन्छ । हामीले हाम्रोलाई चिनेकै छैनौं । त्यसकाररण अब उपचार नेपालमै हुन्छ । यहाँ हुनसक्ने उपचारमा विदेशमै जाने कुरा गर्ने हो भने त्यो नीजि खर्च व्यहोर्नुपर्छ,’– उनले भने ।

वीर अस्पतालको हैसियत, पहिचान, र वीर अस्पतालको इतिहास अब संसारभर फैलाउनका लागि आफूले यो अभियान सुरु गरेको उनले बताए । अन्य अस्पतालको सेवा सुधार गर्न पहिला वीर अस्पताल सुधार्नु आवश्यक रहेको उनको भनाई छ । उनले वीर अस्पताल गरिब र असाहयहरुका लागि आशलाग्दो र भरपर्दो अस्पतालको रुपमा विकसित भइरहेको बताए ।

नेपालको संविधानको मर्म अनुसार निः शुल्क स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने भएपनि त्यो सम्भव नभएको बताउँदै उनले वीर अस्पतालले अहिले उक्त कार्यको सुरुवात गरेको बताए ।

उनले अहिले देशभर तीन हजार पाँच सय २३ वटा वेडहरु निःशुल्क उपलब्ध रहेको र विपन्नता र गरिबीका कारण आधारभूत स्वास्थ्य सेवा नपाउने अवस्थामा निःशुल्क रुपमा उपलब्ध भएका बेडहरुले धेरै राहत पुर्याएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्