काठमाडौं, १२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलहरुलाई पत्करको संज्ञा दिएका छन् ।
आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन दलले एमालेको वेगलाई रोक्न नसक्ने बताएका हुन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर सकृयता र संकल्पका साथ अगाडि बढ्नसमेत निर्देशन दिए ।
‘पत्करहरु आएका छन्, हाम्रो बेगलाई रोक्छौं भनेर । तर, पत्करहरु झरेर कोशी कहाँ रोकिन्थ्यो र ? यस्तो पत्करहरुले रोकेर एमाले कहाँ रोकिन्छ ? त्यो कुराका लागि एउटै आवश्यकता छ, हाम्रो एकताबद्ध सकृयता र संकल्प । त्यतिभए पुग्छ,’– उनले भने ।
साथै, उनले माधव नेपाल लगायतले पार्टी फुटाएको नभएर पिलो गएको टिप्पणी गरे । पिलो निचोरिँदैमा एमालेको ओजन नघट्ने उनको भनाई छ । ‘हाम्रो पार्टी फु्टार्यौं, फुटार्यौं भने । पिलो गएको हो । हाम्रा गायकले गायका छन् नि ‘पिलो निचोरिँदैमा ओजन घटेको हु्न्न ।’ नेकपा (एमाले) को ओजन घटेको छैन । पिलो निचोरिएको हो,’– उनले भने ।