काठमाडौं, १४ साउन । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न ओली देउवा आज (आईतबार) विहानै बालुवाटार पुगेका हुन् । तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा संवैधानिक परिषद्को बैठक बोलाउनेबारे सहमति जुटेको छ ।
संवैधानिक परिषद्को बैठक बोलाएर रिक्त हुने प्रधानन्यायाधीश पदपूर्तिका लागि सिफारिस गर्नेबारे तीन दलका नेताहरुबीच सहमति जुटेको हो । त्यसैगरी सदन सुचारु गर्ने र विभिन्न विधेयकहरुलाई अगाडि बढाउन पनि दलका शीर्ष नेताहरु सहमत भएका छन् ।
एमाले अध्यक्ष ओली बालुवाटर पुग्नुअघि प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश सरकार गठनबारे सत्ता गठबन्धनको शीर्ष नेताहरुसँग छलफल गरेका थिए । कोशी सरकार गठनबारे छलफल गर्न कांग्रेस सभापति देउवा, एकिकृत समाजवादीको नेता माधव कुमार नेपाल लगायतका नेता विहानै बालुवाटर पुगेका थिए । File Photo/RN