Logo

प्रचण्ड नेतृत्वको सरकारले साना–ठूला सबैलाई कानुन लाग्छ भन्ने प्रमाणित गर्योः माओवादी नेता शर्मा



काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै उत्कृष्ठ सरकार भएको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले विगत ३२ वर्षदेखि अलपत्र परेको नागरिकताको विषय सम्बोधनदेखि विभिन्न समयमा भएका भ्रष्टाचारको फाइल खोल्न सफल भएको बताएका हुन् ।

‘विगत ३२ वर्षदेखि नेपालको राजनीतिमा नागरिकता भन्ने विषय अलपत्र परेको थियो । दुवै संसद्ले पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काइदिनुभयो । संविधानलाई उहाँले मिच्नुभयो । त्यसलाई यो गठबन्धन सरकारले प्रमाणीकरण गर्यो ।’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरण जो छ, साना मान्छेलाई कानुन लाग्छ ठूलालाई लाग्दैन भन्ने थियो । भुटानी शरणार्थी प्रकरणमा हात हालेपछि एमालेको केन्द्रीय सचिव र पूर्व गृहमन्त्री सहयात्री दलको नेतालाई नै जेलमा पठाउने । नेपालमा पहिलो चोटी होला आफ्नै सहयात्री दलको नेतालाई जेल पुर्याउने काम गर्यो ।’

साथै प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले सामन्ती व्यवस्थाको अवशेषको रुपमा रहेको मिटरब्याजी समस्या समाधान गर्न ठूलो भूमिका खेलेको बताए । प्रचण्ड नेतृत्वको सरकारले ऐतिहासिक काम गरिरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot