काठमाडौं,१४ साउन । सर्वोच्च अदालतले तत्कालिन डिएसपी (हालका एसपी) रमेशकुमार बस्नेत र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई अदालतको अवहेलना मुद्दामा क्षमादान दिएको छ ।
१२ वर्ष अघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले उनीहरुलाई १५ दिन कैद र ५ हजार जरिवानाको कैद प्रस्ताव गरेको थियो । फैसला कार्यान्वयन गरेमा प्रस्ताव गरेको कैद र जरिवाना मिनाहा हुनसक्ने भनी सर्वोच्च अदालतले गत ११ फागुन, २०७९ मा आदेश गरेको थियो । आदेशअनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गरेपछि सर्वोच्च्का न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले क्षमादान गरेको हो ।
अदालतको अपहेलना मुद्दामा दोषी ठहर भएकाले क्षमादानको निवेदन दिएको खण्डमा क्षमादान हुनसक्ने व्यवस्थालाई टेकेर सर्वोच्चले आदेश गरेको हो ।