Logo

तत्काल प्रधानन्यायाधीश नियुक्तिको वातावरण मिलाउन नेपाल बार एसोसिएसनको माग



काठमाडौं,१४ साउन । नेपाल बार एसोसिएसनले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशको पदमा तत्काल नियुक्ति प्रक्रिया थाल्न माग गरेको छ ।

आइतबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष ध्यानाकर्षणपत्र बुझाउँदै बारको टोलीले प्रधानन्यायाधीशको नियुक्ति गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

नेपाल बारको तर्फबाट महासचिव अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सम्माननीयज्यूको कार्यकाल अत्यन्त छोटो रहेको परिप्रेक्ष्यमा उल्लिखित प्रतिवेदन कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै उक्त प्रतिवेदनलाई सर्वोच्च अदालतको पूर्ण बैठकले स्वामित्व ग्रहण गरी यथाशीघ्र कार्यान्वयनको प्रक्रिया सुरुवात गर्न, गराउन अनुरोध गर्दछौँ ।’

बार एसोसिएसनले एसोसिएसनको १५ औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठकको निर्णय बमोजिम जारी घोषणापत्रको प्रकरण नम्बर १ मा पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न आग्रह गर्दै सो प्रतिवेदनलाई अविलम्ब कार्यान्वयनमा ल्याउन प्रभावकारी कदम चाल्न ध्यानाकर्षण समेत गराएको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश कार्की यहि साउन २० गतेबाट उमेरददका कारण अनिवार्य अवकासमा जाँदैछन् । प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ ।

प्रधानन्यायाधीश कार्की पछि हाल सर्वोच्चमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । कार्कीको अवकासपछि उनै श्रेष्ठ नेपालको नयाँ प्रधानन्यायाधीश हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्