Logo

नक्कली शरणार्थी प्रकरण किनारा लगाउने हिम्मत प्रधानमन्त्री प्रचण्डसँग छैनः ईश्वर पोखरेल



काठमाडौं, १५ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार राष्ट्रिय हित विपरीत रहेको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले आर्थिक विकास र समृद्धिमा अवरोध सिर्जना गरिरहेको आरोप लगाएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, स्वाधिनता, अर्थिक विकास र समृद्धिको विपक्षमा रहेको बताए ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय हित विपरीतको काम गरेको छ । अर्थिक विकास र समृद्धिको कुरामा अवरोध सिर्जना गरेको छ । सामाजिक सद्भाव खल्वल्याउने काम गरेको छ । विकास निर्माणका योजनाहरु अवरुद्ध बनेका छन् । यो राष्ट्रहित विपरीत छ,’– उनले भने ।

नक्कली भु्टानी शरणार्थी प्रकरणमा अनुसन्धान जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्न नसकेको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नक्कली भुटानी शरणार्थी प्रकरणलाई निश्पक्ष छानविन गरेर किनारा लगाउने हिम्मत नरहेको उनको दाबी छ । साथै, उनले प्रधानमन्त्री प्रचण्ड र गृहन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानका नाममा स्टन्टबाजी गरेको आरोप लगाए ।

‘नक्कली भुटानी शरणार्थी केसको बारेमा कहाँ पुग्दै छ त कुरा ? त्यो जहाँ–जहाँ पुग्नुपर्ने हो, जता–जता संकेत छ, त्या तर्फ लैजान सकेको छैन । नक्कली भुटानी शरणार्थीको डरलाग्दो केस हाम्रो सामु्न्नेमा आयो, त्यसलाई किनारा लाउनका लागि जहाँसम्म पुग्नुपर्ने हो, जुन ठाउँमा पुग्नुपर्ने हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सित हिम्मत छ ? पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठसित त्यो हिम्मत छ ? यो स्टन्ट बाजीमात्रै हो,’– उनले भने ।

एक क्वीन्टल सुन प्रकरण बाहिर एक्सपोज भएरमात्रै नियन्त्रणमा आएको उनको दाबी छ । प्रचण्ड नेतृत्वको सरकारका पालामा ठूलोमात्रामा सुन तस्करी भएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्