Logo

सुन तस्करीको छानबिन गर्न संसदीय समिति बनाऔँः वर्षमान पुन



काठमाडौं,१५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमूलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकमा बोल्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने गरी आफ्नो नाम सुन तस्करीमा मुछिएका दावासँग जोड्ने प्रयास भएको भन्दै पुनले आपत्ति जनाए ।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहिद परिवारकी अमला रोकाले दावासँग बिहे गरेपछि आफूसँग चिनजान गराउन दावलाई एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए।

‘दावा पक्राउ परेपछि ८ वर्षपहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’

पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको पनि उनले स्मरण गराए ।पुनले सुन तस्करीमा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिन माग गरे।

त्यसका लागि नाम जोडिएका अरु नेता पनि तयार हुनुपर्ने उनले बताए। त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली र संसदीय समिति वा विशेष समिति बनाउन पुनले माग गरेका छन्।

‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भने, ‘हामी नेता, हाम्रा आफन्त वा जस-जसको अपराधमा संलग्नता देखिन्छ, उसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’

पुनले पार्टीबाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्