काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविन गर्न एक उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व अर्थराज्य मन्त्रीसमेत रहेका राणाले यस प्रकरणमा सत्तापक्ष वा प्रतिपक्ष जोसुकै संलग्न भएपछि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले भने, ‘यो घटना सत्ता पक्ष, प्रतिपक्ष भन्ने छैन, यसमा उच्चस्तरको छानबिन हुनुपर्छ । हुनुहुँदैन भन्ने नै छैन । उच्चस्तरीय स्तरबाट छानबिन हुनुपर्छ, मन्त्रालय, विभागबाट होइन, होइन विपक्ष दलको होइन हामी सबैको माग हो, सुन तस्करीमा हामी गम्भीर छौँ । यो नेपालमा नौलो होइन, पुरानो बेलामा पनि थियो, बरु दुई चार दिन ढिलो होस्, उच्चस्तरीय छानबिन हुनुपर्छ । मलाई लाग्छ, सरकार उच्चस्तरीय छानबिन गर्न तयार छ । यो सदन खुलेर के के भएको हो भनेर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । मूल माफियाको नाइके पत्ता लगाउनुपर्छ, तबसम्म सरकारलाई दबाब हामी पनि दिन्छौँ । तर संसदका अरु बिजनेस चल्न दिनुपर्छ ।’