काठमाडौं, १६ साउन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले संसद् अवरोध खुलाउन प्रतिनिधि सभा बैंठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
एमालेले एक क्वीटल सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समितिको माग गरिरहेको छ । तर, सरकार छानविन समिति बनाउन तयार छैन । उक्त प्रकरणमा राजश्व अनुसन्धान र प्रहरीले छानविन गरिरहेको अवस्थामा छानविन प्रक्रियामा असर पर्नेभन्दै सरकारले छानविन समिति अस्वीकार गरेपछि हिजो प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
प्रतिनिधि सभाको अवरोध हटाउने सभामुख घिमिरेले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा आलीसँग टेलिफोन संवाद गरेका थिए ।
प्रतिनिधि सभा बैठकलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न अथवा सभामुखले आवश्यक ठह¥याएको विषयमा छलफलका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन सक्नेछन् ।
कार्यव्यवस्था परामर्श समितिको अध्यक्ष सभामुख (पदेन), उपाध्यक्ष उपसभामुख (पदेन) र सदस्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सदस्य (पदेन) रहने व्यवस्था रहेको छ । कार्यव्यवस्था परामर्श समितिमा पदेन सदस्य बाहेक बढीमा २१ जना सदस्य रहने व्यवस्था रहेको छ ।