काठमाडौं, १६ साउन । कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समय सीमा सकिनै लाग्दा पनि कुनै दलले कुनै दलले बहुमत जुटाउन सकिरहेका छैनन् ।
प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि बहुमत पुर्याउने तयारी सत्ता गठबन्धनको रहेको छ । सभामुख गौतमलाई राजीनामा गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले दवाब दिइरहेको गौतमले बताए ।
अरुलाई मुख्यमन्त्री बनाउनका लागि आफूले सभामुखबाट राजीनामा नदिने उनको भनाई छ ‘सत्तारुढ गठबन्धनले विकल्प सही तरिकाले दिन पर्यो । समाधानसहितको विकल्प दिन पर्यो,’– उनले भने ।
आफूले राजीनामा दिएपनि एक महिनाभन्दा प्रदेश सरकार नचल्ने उनको दाबी छ । ‘एक महिनाभन्दा बढी सरकार चल्ने अवस्था छैन । अहिले किन निरन्तर दवाब आइरहेको छ ? विश्वासको मत लिने आधार देखिँदैन,’– उनले भने ।
गौतमले सभामुखबाट राजीनामा गरे मन्त्री बनाउने सत्ता गठबन्धनको नेताहरुले आश्वासन दिएका छन् । तर, आफू सभामुख भइसकेको मान्छे मन्त्री नबन्ने उनको भनाई छ । पाए मुख्यमन्त्री बन्ने नपाए मन्त्रीका लागि आफूले राजीनामा नदिने उनको भनाई छ ।
रिर्पोटस नेपालसँगको संक्षिप्त कुराकानीमा गौतमले भने ‘म संवैधानिक पदमा बसेको मान्छे, कुनै दल वा व्यक्तिलाई बहुमत पुर्याउन आफ्नो पद दाउमा लाउँदिन । यदि सभामुख छोडेर म आफै मुख्यमन्त्री बन्ने वातावरण बनेमा सोच्न सकिन्छ । नत्र कोही व्यक्तिलाई मुख्यमन्त्री बनाउन म सभामुखजस्तो गरिमामय पद त्याग गर्दिन।’