Logo

कोशीको मुख्यमन्त्रीमा बाबुराम गौतमको पनि दाबी



काठमाडौं,१६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सभामुख त्याग्नु परे मुख्यमन्त्री बनाउनुपर्ने सर्त अघि सारेका छन् ।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले सभामुखबाट राजीनामा दिएर बहुमत पुर्याउन बारम्बार दबाब दिएपछि राजीनामा दिने तयारीमा रहेका गौतमले मुख्यमन्त्रीमा दाबी गर्दै बार्गेनिङ गरेका हुन् ।

केन्द्रीय नेतृत्वले भने सभामुख छोडेर रोजेको मन्त्रालय लिन प्रस्ताव गरेको छ । तर मन्त्रीभन्दा माथिल्लो पद त्यागेपछि तल झरेर मन्त्री नखाने भन्दै गौतमले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

रिर्पोटस नेपालसँग संक्षिप्त कुराकानी गर्दै गौतमले भने ‘म संवैधानिक पदमा बसेको मान्छे कुनै दल वा व्यक्तिलाई बहुमत पुर्याउन आफ्नो पद दाउमा लाउँदिन । यदि सभामुख छोडेर म आफै मुख्यमन्त्री बन्ने वातावरण बनेमा सोच्न सकिन्छ । नत्र कोही व्यक्तिलाई मुख्यमन्त्री बनाउन म सभामुख जस्तो गरिमामय पद त्याग गर्दिन’।

कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिँदैछ । समय घर्किँदै जाँदा दलहरुलाई बहुमत जुटाउन निक्कै सकस परिरहेको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट उद्धव थापा, माओवादी केन्द्रका तर्फबाट ईन्द्र आङबो र सभामुख गौतमसहित ३ जनाले दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्