Logo

प्रस्तावित ६ देशका राजदूतविरुद्ध परेको उजुरीमाथि छलफल नगर्ने संसदीय समितिको निर्णय



काठमाडौं,१६ साउन । संसदीय सुुनुवाइ विशेष समितिले विभिन्न ६ देशका लागि प्रस्तावित राजदूतविरुद्ध परेको उजरीमाथि छलफल नगर्ने निर्णय गरेको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो। उजुरी छलफल गर्न नै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको छ ।

सरकारले गत २८ असारमा न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाईल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदूतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो।

संसदीय सुनुवाई समितिले उनीहरूमाथिको सुनुवाइ प्रक्रिया सुरु गर्नका लागि यस अघिको बैठकमा उजुरी आह्वानका लागि १० दिने सूचना जारी गरेको थियो।

समितिले दिएको समयसीमामा अन्य प्रस्तावित राजदूतविरुद्ध उजुरी नपरेपनि यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीविरुद्ध भने मन्त्रालयमा कार्यरत एक कर्मचारीले उजुरी दिएका थिए ।

नाम र पद उल्लेख नगरी उजुरी दिएका ति उजुरीकर्ताले प्रस्तावित राजदूत क्षेत्रीलाई अंग्रेजी बोल्न र लेख्न नआउने भन्दै उनलाई राजदूत बनाए देशको इज्जत जाने उल्लेख गरेका थिए ।

तर उजुरीमाथि छलफल नगर्ने भएपछि अव उनीहरूको सुनुवाइको प्रक्रिया समितिमा सुरु हुन्छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  file photo 



प्रतिक्रिया दिनुहोस्