काठमाडौं,१६ साउन । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्खरै बैठक सुरु भएको छ ।
आजको बैठकमा सर्वोच्च अदालतमा रिक्त हुन लागेको प्रधानन्यायाधीशको बारेमा छलफल हुने छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण यहि २० गतेबाट अनिवार्य अवकासमा जाँदैछन । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगाडिनै संवैधानिक परिषद्को बैठक बसेर नाम सिफारिस गर्नुपर्ने व्यवस्था संविधानमा भएपनि दलहरुबीच कुरा मिल्न नसक्दा बैठक बस्न ढिलाई भएको हो ।
आजको बैठकले नयाँ प्रधानन्यायाधीशका लागि एक जना न्यायाधशिको नाम सिफारिस गर्ने तयारी गरेको छ । हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश कार्कीपछि वरिष्ठतम् न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । स्रोतका अनुसार उनै श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।
संविधानको धारा १८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।