Logo

गुठिचौर गाउँपालिकाभित्र रक्सी पिउन लाईसेन्स लिनुपर्ने, अतिथिहरुलाई पनि कार्डको व्यवस्था



काठमाडौं, १७ साउन । जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा सेवन गर्नेहरुका लागि अनिवार्य सेवन कार्ड लिनुपर्ने व्यवस्था गरेको छ । गत असार ३१ गतेको १५औं गाउँसभाबाट ‘मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यविधि– २०८०’ पारित भएसँगै पालिकाभित्र मदिरा सेवन गर्नका लागि अनिवार्य सेवन कार्ड लिनुपर्ने भएको हो ।

पालिकाभित्र मदिरा सेवन गर्ने जो कोहीले पनि कार्ड लिएर तोकिएको मात्रामा मात्रै मदिरा सेवन गर्न पाउने पालिका अध्यक्ष दान बहादुर बुढाले बताए । ‘हाम्रो १५औं गाउँ सभाबाट गत असार ३१ गते ‘मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यविधि– २०८०’ सर्वसम्मत पारित भएको छ । आगामी भदौ १ गतेबाट यो व्यवस्था लागू हुनेछ,’– अध्यक्ष बुढाले भने ।

कार्यविधि लागू भएपछि गाउँ पालिकाको क्षेत्रभित्र कुनै काम विशेष अथवा घुम्नका लागि अन्य ठाउँबाट आएका आगन्तुकहरुले पनि मदिरा सेवन गर्न चाहेमा पालिकामा समन्वय गरेर ‘अतिथि मदिरा सेवन कार्ड’ लिनुपर्ने अध्यक्ष बुढाले बताए ।

‘बाहिरबाट गुठीचौर गाउँपालिकामा कोही घुम्न आउनुभयो, अथवा कुनै काम विशेष गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र आएपछि त्यो गाउँपालिकाको क्षेत्रभित्र कसैले म सक्सी खान्छु भन्यो भने गाउँपालिकासँग समन्वय गर्न पर्यो । गाउपालिकाले अतिथि मदिरा सेवन कार्ड भनेर उपलब्ध गराउँछ । कार्यविधिमा तोकिएको परिमाणमा मात्रै मदिरा सेवन गर्न पाइयो,’– उनले भने ।

साथै, गाउँपालिकाले मदिराको विक्री वितरणका लागि इजाजत अनिवार्य गरेको छ । यस्तो इजाजत लिन र लिएकाहरुले साउन मसान्तभित्रै नवीकरणको काम सकाउन पनि गाउँपालिकाले भनेको छ ।

नियम उल्लङ्घन गर्नेलाई पहिलो पटक एक हजार रुपैयाँ जरिवाना र त्यसपछि प्रत्येक पटक दुई हजारको दरले जरिवाना गराईने व्यवस्था कार्यविधिमा रहेको छ । कार्यविधिअनुसार सेवन कार्ड लिएकाहरुले पालिकाभित्र दैनिक एउटा वियर अथवा १८० एमएल मदिरा सेवन गर्न सक्छन् ।

कार्ड लिनका लागि पाँच सय तिर्नु पर्ने छ भने अतिथि कार्डका लागि एक दिनको एक सयका दरले पैसा तिर्नुपर्ने छ । सार्वजनिक स्थलको पाँच सय मिटर वरपर मदिराजन्य वस्तु विक्री वितरण र सेवनमा समेत रोक लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्