Logo

प्रचण्डका ज्वाँइले तेस्रोपटक मन्त्री बन्न अड्डी कसेपछि माओवादीमा विवाद



काठमाडौं,१७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समारोह अन्तिम समयमा आएर रोकिएको छ । आज विहान १० बजेका लागि तय भएको शपथ बेलुका ५ बजेसम्मका लागि स्थगित भएको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आन्तरिक तयारी नपुगेको भन्दै शपथग्रहण सरेको जनाएको छ । आन्तरिक तयारी नपुगेर शपथ सरेको भनिएतापनी प्रमुख सत्तारुढ घटक दल नेकपा माओवादी केन्द्रमा मन्त्री छान्ने विषयमा विवाद भएपछि शपथ सरेको उच्च स्रोतले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री थापाले आज आफ्नो दलबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम, र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाउने तयारी गरेका थिए । मन्त्री बन्न लागेका माओवादी केन्द्रका सांसद गौतम प्रदेश सभाका निवर्तमान सभामुखसमेत हुन् ।

मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन सभामुख पद त्यागेर राजनीतिलाई दाउमा लगाएका गौतमलाई माओवादी केन्द्रले राजेको मन्त्रालय दिएर मन्त्री बनाउने आश्वासनसहित सभामुखबाट राजीनामा दिन लगाएको थियो । मन्त्री बन्ने आशासहित सभामुख त्यागेका गौतमलाई मन्त्री बन्न नदिन उनकै दलका एक सांसद लागेपछि माओवादी केन्द्रमा विवाद सिर्जना भएको छ ।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार कोशीमा बाबुराम गौतमलाई मन्त्री बन्न नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँईसमेत रहेका जीवन आचार्य लागेका छन् । आचार्यले गौतमको ठाउँमा आफुलाई नै मन्त्री बनाउनुपर्ने भन्दै अड्डी कसेपछि माओवादी केन्द्रमा विवाद सिर्जना भएको हो ।

मन्त्री बन्न अड्डी कसेका आचार्य यसअघिपनि दुइ पटक मन्त्री बनिसकेका व्यक्ति हुन् । आचार्य पहिलोपट हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा उद्योग वन तथा वातावरण मन्त्री बनेका थिए । गत असार १५ गते हिक्मत नेतृत्वको सरकार ढलेर कांग्रेस नेतृत्वमा सरकार बनेपछि आचार्यले शक्तिशाली मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए । हिक्मत सरकार ढालेर थापाको नेतृत्वमा सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका भनिएका आचार्यले हिक्मत सरकार ढालेबापत शक्तिशाली मन्त्रीको जिम्मेवारी पाएको चर्चा माओवादी वृतमा चलिरहेका छ ।

तर उद्धव थापा नेतृत्वको सरकार २२ दिनमै अदालतको परमादेशले ढलेपछि मन्त्रीबाट बाहिरिएका आचार्यले तेस्रोपटक मन्त्री बन्न केन्द्रीय तहमा तिब्र लबिङ गरिरहेका छन् । जसरीपनि आफुलाइ मन्त्री बनाउन केन्द्रीय नेतृत्वलाई दवाव दिएपछि माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ ।



प्रतिक्रिया दिनुहोस्