काठमाडौं,१७ साउन । कोशी प्रदेशमा मंगलबार साँझ मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको शपथग्रहण समारोह अझै हुन सकेको छैन ।
बिहान १० बजे हुने भनिएको शपथग्रहण समारोह मन्त्री बनाउने विषयमा दलहरुबीच कुरा नमिलेपछि बेलुका ५ बजेसम्म सरेको छ ।
मुख्यमन्त्री थापाले आज कांग्रेसका प्रदीप सुनुवासँगै माओवादी केन्द्रका बाबुराम गौतम र नेकपा एसका कमलप्रसाद जवेगुलाई मन्त्री बनाउने तयारी गरेकोमा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जीवन आचार्यले आफै मन्त्री बन्ने अड्डी कसेपछि शपथग्रहण कार्यक्रम सरेको थियो । माओवादी केन्द्रका सांसद आचार्य यस अघिपनि दुईपटक मन्त्री भइसकेको व्यक्ति हुन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाँइसमेत रहेका आचार्य केन्द्रीय नेतृत्वको आडमा पुनः तेस्रोपटक मन्त्री बन्न कम्मर कसेपछि माओवादी केन्द्रमा विवाद सिर्जना भएको थियो ।
बिहान विवाद भएर रोकिएको शपथग्रहण समारोह बेलुका ५ बजे हुने निश्चित भएको छ । माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार माओवादीले आचार्यको ठाउँमा पहिलो चरणमा बाबुराम गौतमलाई मन्त्रीमा सिफारिस गरेको छ । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । प्रदेश सरकारको सबैभन्दा शक्तिशाली मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउन लागेका गौतम निवर्तमान प्रदेश सभामुख हुन् ।
मुख्यमन्त्रीमा उद्धव थापालाई बहुमत जुटाउनकै लागि सभामुख पद त्यागेका गौतमलाई माओवादी केन्द्रले रोजेको मन्त्रालय दिने सहमतिसहित राजीनामा गराएको थियो ।