काठमाडौं, १८ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जलहरी प्रकरणमा बुरुक–बुरुक उफ्रिएकाहरुले सुन तस्करी प्रकणको अनुसन्धान आफूतर्फ सोझिने भएपछि उच्च स्तरीय छानविन समिति बनाउन नमानेका टिप्पणी गरेका छन् । उनले उनीहरुलाई गुरिल्लाको संज्ञा दिँदै आफूहरु त्यसमा संलग्न नभए छानविन गर्न चुनौति दिएका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुन तस्करी प्रकरणमा संलग्न एक जनाले माओवादी नेतासँगै खाना खाएको प्रमाण फेला परिसकेको बताए ।
‘जलहरी काण्डमा गुरिल्लाहरु बुरुक बुरुक उफे्रका थिए । ती गुरिल्लाहरुले अहिले उच्च स्तरीय छानविन समिति बनाउन हुँदैन भन्नुको अर्थ मेरै क्वार्टर हेडक्वार्टरतिर अनुसन्धान सोझिन लाग्यो भन्ने भ्रम किन पार्ने ? होईन भने छानविन गरौं,’– उनले भने ।
अहिलेको सरकारले संसदीय व्यवस्थामाथि नै निर्ममता पूर्वक प्रहार गरिरहेको उनको आरोप छ । उनले एमालेले संसदीय व्यवस्थालाई बचाउन चाहेको बताए । प्रधानमन्त्री र गृहमन्त्री नैतिक रुपमा पदमा बस्न योग्य मान्छे नरहेको उनको टिप्पणी छ । प्रधानमन्त्री लगाम बेगर चलेको उनले बताए ।