काठमाडौं,१८ साउन । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबीच टसल सुरु भएको छ ।
केहीदिन अघि प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा उठाएका विषयलाई लिएर नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीलाई पत्र काटेर जवाफ माग गरेपछि पत्रकार महासंघबीच टसल सुरु भएको हो ।
महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा उठाएका गम्भीर विषयलाई लिएर प्रेस काउन्सिल नेपालले जवाफ माग गरी पत्र काटेकोप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले पत्रकार र सञ्चारमाध्यमका सन्दर्भमा प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागबाट संपादन हुने काम कारबाही संगठित रूपमा गिरोह नै तयारी गरी बिचौलिया मार्फत गर्न खोजिएको विषयलाई सामाजिक सञ्जालमा उठाएको निहुँमा प्रेस काउन्सिलले पत्र काटेको अध्यक्ष तिवारीले महासंघलाई जानकारी गराएपछि संस्थाको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले प्रेस काउन्सिललाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नसमेत आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘आफूलाई चित्त नबुझेको विषयमा मर्यादा र कानुनी दायरामा बसेर आफ्नो विचार अभिव्यक्त गर्नु प्रत्येक व्यक्तिको स्वतन्त्रता हो । संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई निर्धक्क उपभोग गर्न पाउनु पर्छ भन्ने विषयलाई महासंघले उठान गरिरहेको छ ।
सञ्चारमाध्यमको विषयवस्तुको नियमन गर्ने दायित्व बाकेको प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विषयलाई लिएर सञ्जाल प्रयोगकर्तालाई पत्र लेख्नु, सैद्धान्तिक र व्यवहारिक रूपमासमेत उचित होइन । तसर्थ, आफ्नो क्षेत्राधिकार र दायित्वको परिधिभित्र रहेरमात्र यस्ता विषयमा निर्णय लिन प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गर्दछु’।
यसअघि नेपाल पत्रकारिता विकास समाजले प्रेस काउन्सिल नेपालको दुरूपयोग भैरहेको भन्दै त्यसमा अनुसन्धान गरी दोषी माथि कारबाही गर्न सरकारसँग माग गरेको थियो।
मंगलबार समाजका सचिव किरण देउजाले जारी गरेको विज्ञप्तिमा प्रेस काउन्सिल नेपालको दुरूपयोग गरेर भैरहेको कामको निष्पक्ष र सुक्ष्म छानबिन गरी दोषीमाथि हदैसम्म कारबाही गर्न माग गरिएको छ।