Logo

एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रधानमन्त्री दाहाल, अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठले नैतिक जिम्मेवारी लिनुपर्छ: डा. केसी



काठमाडौं, १८ साउन । अहिले देश भ्रष्टाचारको दलदलमा छ । सरकारका हरेक निकाय भ्रष्टाचारले ग्रस्त छन् । राज्यका सबै निकायहरुमा विकृति, विसंगति र भ्रष्टाचार मौलाएको छ । सरकारले पछिल्लो समय नक्कली भुटानी शरणाार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाईल खोलेको छ ।

कारबाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि सरकारले सत्ता टिकाइराख्न बेलाबेलामा स्टन्टबाजी गर्ने गरेको अरोप पनि लाग्ने गरेको छ । विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौति दिँदै एयरपोर्टबाट एक क्वीन्टलभन्दा बढी सुन बाहिरिँदै गर्दा राजश्व अनुसन्धानको टोलीले पक्राउ गर्न सफल भयो । उक्त प्रकरणमा ट्याक्सी चालक र भरियामात्रै पक्राउ परेका छन् । सुनको मालिक को थियो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । यस्तो अवस्थामा जनताले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै प्रश्न उठाउन थालिसकेका छन् ।

अहिलेको समसायिक विषय सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र व्याप्त भ्रष्टाचारको विषयको निश्पक्ष छानविन, दोषीलाई कारबाही र देशमा सुशासन स्थापित गराउने विषयमा रिपोर्टर्स क्लब नेपालले विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरुले सिस्टम परिवर्तन भन्दा पनि देशमा सुशासनको खाँचो रहेको बताए ।

त्यसैगरी, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको प्रणालीमा समस्या नभएर आचरण र संस्कारमा समस्या रहेको टिप्पणी गरे । बालुवाटार जग्गा प्रकरणमा बाबुराम, माधवकुमार नेपाल र लिलामणि पौडेलमात्रै जिम्मेवार पात्र भएको उनको भनाई छ ।

ती जिम्मेवार पात्रले उक्त प्रकरणको जिम्मा लिनुको सट्टा मन्त्रिपरिषद्मा निर्णयका लागि पठाउन टिप्पणी उठाउने शाखा अधिकृतलाई पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए । यस्तै हुँदै गएमा भोलि कार्यालय सहयोगीलाई पक्राउ गरेर अरुलाई उन्मुक्ति दिने दिन आउनको उनको टिप्पणी छ ।

‘बालुवाटारको प्रकरणमा बाबुराम, माधव कुमार नेपाल र लिलामणि पौडेल । यी तीन जनाभन्दा अरुको जिम्मेवारी नै छैन । साथीहरु शाखा अधिकृतलाई थुन्नतिर लागेको छन् । भोलि पिउन (कार्यालय सहयोगी) लाई थुन्छन् होला यिनीहरुले,’– डा. केसीले भने ।

यसअघिको ३३ किलो सुन प्रकरण एक जना प्रहरी अधिकृतलाई आईजी हुनबाट रोक्न गरिएको प्रपञ्चमात्रै भएको उनले दाबी गरे । ‘सुनको कुरा पनि त्यही हुन्छ । ३३ किलो सुन प्रकरणमा सुन फेला परेन, प्रमाणित भएन भन्ने कुरा भयो । त्यो खेल जम्माजम्मी प्रहरीको लोहनी भन्ने एकजना अधिकृत थियो, त्यसलाई आईजी हुनबाट रोक्न गरिएको प्रपञ्च थियो,’–उनले भने ।

सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिक जिम्मेवारी लिनु आवश्यक रहेको उनले बताए । सरकारमा रहेका यी तीन व्यक्तिले नैतिक जिम्मेवारी नलिएको खण्डमा उनीहरुमाथि नै प्रश्न तेर्सिने र निश्पक्ष छानविन हुनपनि नसक्ने उनको भनाई छ । ‘तीन जना भन्दा अरुको सुन होईन, गृहमन्त्री, प्रधानमन्त्री अर्थमन्त्री । यो तीन जना संयन्त्र नछिचोलिकन सुन बाहिर आउन सक्छ र ?’ उनले प्रश्न गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री नै दोषी रहेको उनको भनाई छ । उक्त प्रकरणमा टोपबहादुर केवल विचौलियाको भूमिकामा मात्रै रहेको बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot