Logo

माओवादी केन्द्रीय सदस्यहरुको एक स्वर ‘पार्टीभित्रैका भ्रष्टाचारीलाई पनि कारबाही गर्नपर्यो’



काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी रहेको छ । गत साउन १७ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक आगामी २१ गतेसम्म चल्ने छ । हिजो (बिहीबार) को केन्द्रीय समिति बैठकमा सांसद, मन्त्री, प्रधानमन्त्री र पार्टीको जिम्मेवारीमा कति पटक बस्ने भन्ने किटान विधान सम्मेलनले गर्नुपर्ने बताएका छन् ।

पार्टीका सबै कमिटीलाई निर्वाचनको प्रक्रियामा लिएर जानुपर्ने केन्द्रीय सदस्यहरुको माग रहेको छ । मनोनयन प्रक्रियाले सही नेतृत्व चयन गर्न नसकेको उनीहरुको भनाई छ ।केन्द्रीय सदस्यहरुले पार्टीभित्रै पनि खराबी रहेको र उनीहरुलाई पनि कारबाही गर्न आग्रह गरेका छन् ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रचण्ड नेतृत्वको सरकारका कारण जनतामा केही आशा पलाएपनि पार्टीभित्रैका खराब तत्वलाई कारबाहीको लागि केन्द्रीय समितिमा जोडदार आवाज उठेको बताए ।

‘पछिल्लो पटक हाम्रो पार्टीका अध्यक्षको नेतृत्वमा सरकार बनिसकेपछि केही सकारात्मक कदम चालिएका छन् । त्यसले जनतामा थोरै भएपनि एउटा आशा सञ्चार गरेको छ । यसलाई रोक्न हुँदैन । सँगै हामीले केन्द्रीय समितिको बैठकमा के उठाएका छौं भने हामीभित्रका पनि यस्ता खराबीहरु छन्, पार्टीले छानविन गर्नुपर्यो, बाहिरमात्रै होईन भित्र पनि कारबाहीको प्रक्रिया सुरुवात गर्न पर्यो भनेर हामीले भनेका छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्