Logo

३१औं प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ को हुन् ?



कमल बुढाथोकी

काठमाडौं,१९ साउन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलिबाट अनिवार्य अवकाशमा जाँदैछन् । गत असार १ गतेबाट ३०औं प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

नेपालको संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी हरुको पद रिक्त हुनु एक महिना अगाडिनै संवैधानिक परिषद्को बैठकबसी नाम सिफारिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सभामुख, उपसभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक परिषद्कले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गरि अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी प्रावधान रहेको छ ।

संवैधानिक परिषद्मा सत्तारुढ दलको प्रष्ट बहुमत नभएको कारण प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगाडिनै सिफारिस गर्न सम्भव भएन । दलहरुबीच भागबन्डामा कुरा नमिल्दा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीका अडानका कारण समय घर्किँदै गएपछि बिहीबार बसेको बैठकले आगामी ३१औं प्रधानन्यायाधीशको रुपमा सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ सर्वोच्चका वरिष्ठतम न्यायाधीश हुन् ।

को हुन् प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ?

विश्वम्भरप्रसाद श्रेष्ठको जन्म बिंसं २०१६ साल असोज २० गते सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा भएको थियो । डोटीमा जन्मिएतापनि श्रेष्ठ कैलालीमा हुर्किएका हुन् भने प्रारम्भिक शिक्षा पनि कैलालीमै लिएका हुन् । कानूनमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८ सालमा अस्थायीरुपमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।

२०४१ सालमा स्थायी बनेका श्रेष्ठले हालसम्म दार्चुला, डडेलधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौं जिल्ला अदालतका न्यायाधीश बनेर काम गरेका छन् । २०६२ सालमा पुनरावेदन अदालत बाग्लुङका न्यायाधीशमा नियुक्त भएका श्रेष्ठले त्यसपछि विभिन्न समयमा पुनरावेदन अदालत पाटन र पोखरामासमेत न्यायाधीश भएर सेवा गरेका छन् । २०७१ भाद्र १० गते पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीशमा नियुक्त भएका श्रेष्ठ २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।

क्याडर जज श्रेष्ठ नम्र स्वभाव र न्यायिक निष्पक्षतालाई ध्यान दिने न्यायाधीशकारुपमा चिनिन्छन् । अहिलेसम्म कुनैपनि विवादमा नतानिएका श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण २०८१ असोज १९ गते अनिर्वाय अवकाशमा जानेहुँदा उनले १४ महिना सर्वोच्च प्रशासनको नेतृत्व सम्हाल्नेछन् । संवैधानिक परिषद्बाट सिफारिसमा परेपनि संसदीय सुनुवाईका प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले श्रेष्ठले भोलिबाट सर्वोच्चको कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

क्याडर जज रहेका श्रेष्ठ हालसम्म न्याय सम्पादनमा कुनैपनि विवादमा नपरेका,स्वच्छ छवी भएका हुँदा उनी सर्वसम्मतरुपमा संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित हुने निश्चित रहेको देखिन्छ ।

श्रेष्ठ गोरखादक्षिण बाहू चौथो २०४८,गोरखादक्षिण बाहू तेश्रो २०६१ बाट विभूषित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot