काठमाडौं,१९ साउन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।
भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए।
रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भारतको लखनउस्थित अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको थियो । शव ल्याएर तुलसीपुर १२ बबई घाटमा अन्त्येष्टि गरिएको थियो।
त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा अस्तु सेलाएपछि नुहाउन पसेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनको खोजी कार्य जारी रहेको छ ।
भुसाल जाजरकोटस्थित चौरजहारीको एक विद्यालयमा पढाउने गर्थे। उनका परिवार बाँकेस्थित कोहलपुरमा डेरा लिएर बस्ने गर्छन्।
तस्बिर स्रोत: सामाजिक सञ्जाल